काठमाडौं / संसदको गतिरोध अन्त्यका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको छलफलमा पनि सहमति जुट्न सकेन ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की तथा माओवादीका तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डे छलफल भएको थियो ।
छलफलमा दुवै पार्टी आ–आफ्नै अडानबाट पछाडि नहट्दा सहमति जुट्न नसकेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका विपक्षी दल भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका छन् । तर सत्तारूढ नेकपा (एमाले) र काँग्रेस गृहमन्त्रीको राजीनामा नआउने र छानबिन समिति पनि नबन्ने अडानमा रहँदा लामो समयदेखि संसद बन्धन बनेको छ ।