तेह्रथुममा
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ५३ दशमलव
५९ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमका अनुसार बेलुका
५ बजेसम्म जिल्लाभर ३९ हजार १ सय ९३ मत खसेको छ। खसेको मतमध्ये १९ हजार २ सय ४५
महिला र १९ हजार ९ सय ४८ पुरुष मतदाता रहेका छन्। जिल्लामा कुल ७३ हजार १ सय ३७
मतदाता रहेका छन्।
बिहान
७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म सञ्चालन भई शान्तिपूर्ण
रूपमा सम्पन्न भएको हो। मतदानका क्रममा जिल्लाभर मतदाताको उत्साहजनक सहभागिता
देखिएको थियो।
निर्वाचन
आयोगको व्यवस्था अनुसार जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक जनशक्ति तथा सुरक्षा
प्रबन्ध मिलाइएको थियो। मतदानलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायको
सक्रिय परिचालन गरिएको थियो।
यसैबीच, जिल्ला कारागार तेह्रथुममा रहेका १ महिला सहित ५३ जना कैदीबन्दीले पनि
आफ्नो मताधिकार प्रयोग गरेका छन्। कारागार परिसरमै अस्थायी मतदान केन्द्र स्थापना
गरी उनीहरूलाई मतदानको व्यवस्था मिलाइएको थियो। आवश्यक सुरक्षा प्रबन्धसहित
कैदीबन्दीलाई शान्तिपूर्ण रूपमा मतदान गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले
जनाएको छ।
जिल्लाभरका
संवेदनशील तथा अतिसंवेदनशील मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको
थियो। सुरक्षाका लागि नेपाल प्रहरी,
सशस्त्र प्रहरी बल नेपाल र
म्यादी प्रहरी परिचालन गरिएको थियो। सुरक्षा निकायको समन्वयात्मक उपस्थितिका कारण
मतदानका क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी
नायव उपरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका छन्।
तेह्रथुममा
प्रतिनिधिसभा सदस्यका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। मतदान
सम्पन्न भएसँगै मतपेटिका संकलन गरी सुरक्षित रूपमा मतगणना स्थलतर्फ लैजाने तयारी
गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना कार्य सुरु गर्ने
समयबारे सर्वदलीय बैठकपछि निर्णय गरिने बताइएको छ।